तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गर्न नदिन सरकारलाई संसदीय समितिको निर्देशन

तीनकुने र आसपासको क्षेत्रमा सभा, विरोध प्रदर्शन र धर्नालगायतका कार्यक्रमका लागि अनुमति नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

काठमाडौँ– काठमाडौँको कोटेश्वरस्थित तीनकुने र आसपासको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्नालगायतका कार्यक्रमका लागि अनुमति नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरि खतिवडाले यस्तो निर्देशन दिएका हुन्।

“काठमाडौँको तीनकुने र आसपासका स्थानमा अब आइन्दा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदिका कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समिति निर्देशन गर्दछ,” उनले भने।

त्यस्तै, समितिले चैत्र १५ गतेको घटनाको सत्यतथ्य छानबिन गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसमा संलग्न रहेकालाई आवश्यक छानबिन गरी कानूनी कारबाहीलाई अघि बढाउन पनि निर्देशन दिएको छ।

नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।