बैंककमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

थाइल्यान्डको बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। 

काठमाडौँ– थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन समापनपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको हो।

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको हो।

यसअघि उनीहरूबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो।

भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली शुक्रबार साँझ थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत छन्। प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्कने कार्यक्रम छ।