पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरीको नियन्त्रणमा

सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

आदेश कार्यान्वयनका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

उनका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो। संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गएको थियो।