बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

हिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बोलेरो जिप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो। 

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जिप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो। 

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो। 

यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द–१० की ३० वर्षीया कबिता परियार घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

चालकसहित चारजना मात्रै सवार जिप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ। दुर्घटनाग्रस्त जिप सडकबाट करिब ४० मिटर तल खसेको छ।