तस्वीरमा जुम्लाको चमक

कर्णालीका सम्भावना र सुन्दरतालाई काठमाडौँमा पस्किने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात् जुम्लाको प्रदर्शन गरिएको हो। प्रदर्शन शुक्रबारदेखि जारी छ।

हवाइजहाजबाट लिएको जुम्ला सदरमुकाम खलंगा बजारको दृश्य।

काठमाडौँ– आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको जुम्ला जिल्ला झल्किने गरी शुक्रबारदेखि काठमाडौँमा तस्वीर र भिडियो प्रदर्शनी भइरहेको छ।

‘कनेक्टिङ कर्णाली’ अभियानअन्तर्गत नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शन जारी छ। अभियानमार्फत संघीय राजधानी काठमाडौँलाई शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट कर्णाली जोड्ने लक्ष्य छ। चित्रमा जुम्ला जिल्ला, दृश्य र उत्पादनमा कर्णालीलाई केन्द्रित गरी प्रदर्शनी गरिएको आयोजक मनघरी फाउन्डेसनका अध्यक्ष एव कनेक्टीङ कर्णालीका परिकल्पनाकार भरतबन्धु थापाले बताए।

चन्दनाथ भैरवनाथ मन्दिर।

फाउन्डेसन स्थापना भएको एक दशकको अवसरमा संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरूलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामाग्रीमार्फत सम्भावना र सुन्दरतालाई उजागर गर्ने हेतुले कार्यक्रम गरेको अध्यक्ष थापाले बताए। दैलेख, डोल्पा र मुगुपश्चात् उनको चौथो शृंखला जुम्लाकेन्द्रित छ।

आखेलमा मार्सी चामल (स्थानीय भाषामा दुम्चे ) कुट्दै स्थानीय।

“देशको सबैभन्दा स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र नै छ। जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन्। तर ती सम्भावनालाई हामीले नजरअन्दाज गरिरहेका छौँ,” थापाले भने, “यसर्थ कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका साथ त्यहाँ उत्पादीका सामग्रीहरूलाई  संघीय राजधानीसँग जोड्नु नै कार्यक्रमको प्रमुख उद्देश्य हो।”

प्रदर्शनीमा आयोजक, एलपी देवकोटा, विशाल सुनार र कुबेरराज कार्कीका तस्वीर राखिएका छन्। 

गुठीचौर गाउँपालिकामा अवस्थित चरन क्षेत्र।

तातोपानी गाउँपालिकास्थित गिडी दह।
पञ्चेबाजा बजाउँदै स्थानीय।
चन्दननाथ नगरपालिका मिचा गाउँमा रहेको पञ्चदेवल।