जगुआर ल्यान्डरोभरले अमेरिकामा कार निर्यात बन्द गर्‍यो

ट्रम्प प्रशासनले लगाएको ट्यारिफले गर्दा विलासी कार निर्माता जगुआर ल्यान्डरोभर (जेएलआर)ले अप्रिलमा अमेरिकामा आफ्ना कारहरू नपठाउने जनाएको छ।

काठमाडाैँ– विलासी कार निर्माता जगुआर ल्यान्डरोभर (जेएलआर)ले अप्रिलमा अमेरिकामा आफ्ना कारहरू नपठाउने जनाएको छ। जेएलआर २००८ देखि भारतीय कम्पनी टाटा समूहको एक हिस्सा हो र बेलायतको सबैभन्दा ठूलो लक्जरी कार निर्माता कम्पनी हो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ट्यारिफले लगाएको नयाँ व्यापार सर्तहरूलाई कसरी सम्बोधन गर्ने भन्ने निर्णय गर्न काम गरिरहेको हुनाले रोक लगाइएको जनाएको छ। "हामी व्यापारिक साझेदारहरूसँग नयाँ व्यापारिक सर्तबारे वार्ता गर्न काम गरिरहेका छौँ र अप्रिलमा ढुवानी रोक्नेसहित धेरै छोटो अवधिका कारबाहीहरू गरिरहेका छौँ," विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार कम्पनी मध्य र दीर्घकालीन योजना बनाउन व्यस्त छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क (ट्यारिफ) शनिबारदेखि लागू भएको छ। यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउने र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने अनुमान गरिएको छ।

चीनले अमेरिकी सामानहरूमा ३४ प्रतिशतको जवाफी ट्यारिफ लगाएपछि शुक्रबार अमेरिकी शेयर बजारसहित विश्वभरका शेयर बजारमा ठूलो गिरावट आएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले अभूतपूर्व दरमा रोजगारी र व्यवसाय ल्याइरहेको बताएका छन्। उनले यसलाई आर्थिक क्रान्ति बताउँदै आएका छन्।

"यो आर्थिक क्रान्ति हो, र जित हाम्रो हुनेछ। धैर्य गर्नुहोस्, यो सजिलो हुनेछैन, तर अन्तमा परिणाम ऐतिहासिक हुनेछ," उनले भनेका छन्।