फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय, स्थानीय उत्साहित

बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री पनि यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको छ। 

गलकोट– बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार। व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धराशायी बन्दै गइरहेको सन्दर्भमा बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाबले चलायमान देखिएको छ। यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ।

नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना शहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो। यहाँको व्यापारसमेत फस्टाउँदो छ। ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख शहरका रूपमा रहेको छ।

चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ। इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन्। 

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन्। पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन्। ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन् भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमतर्फबाट पनि पर्यटक आउने गरेका छन्।

बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको उनको भनाइ छ। 

“निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीयस्थल घुम्न आएका पाहुना खानबस्न यही आइपुग्छन्, शिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ,” भट्टचनले भने, “बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छभने नयाँ शहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ।”

यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेशस्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छ भने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ। मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बताए। बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने उनको भनाइ छ। एक हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ। बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन्। 

ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताए। लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुमपूर्वबाट यातयातका साधन तथा मालवाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने उनले जानकारी दिए। ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ।

“पर्यटकहरू छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्,” छन्त्यालले भने, “अन्य शहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्।” 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय अझ फस्टाउने अपेक्षा गरिएको छ।