विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकको सिटी जुलुस

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने  माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित छन्।

काठमाडौँ– नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै शुरू गरेको आन्दोलन आइतबार पनि जारी छ। शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिटी बजाउँदै सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने  माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए।

महासंघले आइतबार विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम-गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकलाई आग्रह गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकारमाथि विश्वास गरेर शिक्षकहरू शान्तिपूर्ण प्रदर्शनमा आएको बताएका थिए।