राप्रपालाई सिफल वा बल्खुमा आमसभा गर्न प्रशासनको आग्रह

राप्रपाले चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

काठमाडाैँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

काठमाडौँको प्रदर्शनी मार्ग, भृकुटी मण्डपमा आमसभा आयोजना गर्ने तयारी गरिरहेको राप्रपालाई ती स्थानमा अन्य आन्दोलनका कार्यक्रम जारी रहेकाले सिफल वा बल्खु क्षेत्रमा आमसभा गर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालय, काठमाडाैँले राप्रपा बागमती प्रदेश कार्य समितिलाई पत्र पठाउँदै यसबारे जानकारी गराएको छ। प्रदर्शनी मार्ग क्षेत्रमा शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्व निर्धारित कार्यक्रमहरू भइरहेको हुँदा सुरक्षा संवेदनशीलताका हिसाबले अन्य विकल्प दिइएको पत्रमा उल्लेख छ।

"माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ," पत्रमा भनिएको छ।