राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी ढुंगानालाई

गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि अर्थ मन्त्रालयले ढुंगानालाई कायममुकायमको जिम्मेवारी दिएको हो।

काठमाडौँ– नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ। 

गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि अर्थ मन्त्रालयले ढुंगानालाई उक्त जिम्मेवारी दिएको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्। 

गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको छ।