आफूले लगाएको ट्यारिफपछि विश्व शेयरबजारमा उथलपुथल आउँदा पनि ट्रम्प भने ढुक्क छन्। ट्यारिफले गर्दा अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको उनको दाबी छ।
काठमाडाैँ– एशियाका सबै शेयरबजारमा सोमबार भारी मात्रामा गिरावट आएको छ। अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारतलगायत विश्वका अधिकांश देशहरूबाट अमेरिका आउने सामानहरूमा आयात शुल्क (ट्यारिफ) लगाउने घोषणाको असर शेयरबजारमा देखिएको हो। यसले एशियाका साथै अमेरिकाको शेयरबजारमा पनि उथलपुथल आएको छ।
एशियाका प्रमुख शेयरबजारहरू खुल्नेबित्तिकै ठूलो मात्रामा गिरावट रेकर्ड गरिएको थियो। ५० प्रतिशतभन्दा बढी अमेरिकी ट्यारिफको सामना गरिरहेको चीनमा सीएसआई३०० ब्लू-चिप सूचकांक सोमबार लगभग ७ प्रतिशतले घट्यो। यससँगै चिनियाँ मुद्रा युआन जनवरीयताकै न्यून बिन्दुमा झरेको छ।
यस्तै, जापानको निक्केई २२५ सूचकांक बजार खुलेको केही समयपछि लगभग ९ प्रतिशतले घट्यो भने दिनको शुरूतिर बजारमा सर्किट ब्रेकर लागेका कारण जापानी फ्युचर्सको कारोबार स्थगित गरिएको थियो। हङकङको बजार १३ प्रतिशतले घटेको छ, जुन १९९७ यताकै ठूलो गिरावट हो। यस्तै ताइवानको शेयरबजार ९ प्रतिशतले घटेको छ।
भारतमा शेयरबजार 'क्र्यास' भएको विश्लेषण गरिएको छ। भारतमा सोमबारको शेयर गिरावटलाई 'रक्तस्नान सोमबार' (ब्लडबाथ मन्डे) भनिएको छ। भारतीय शेयरबजारका दुवै प्रमुख सूचकांकमा चार प्रतिशतभन्दा बढीले गिरावट आएको छ। सामान्यतया बजारमा भएको ठूलो गिरावट वा मूल्यमा तीव्र रूपमा आएको कमीलाई बुझाउन 'रक्तस्नान' भन्ने गरिन्छ। दिउँसो १२:३० बजे, सेन्सेक्स ७२,१४२ मा थियो, जुन ४.२७ प्रतिशतको गिरावट थियो। त्यस्तै, निफ्टी ४.५४ प्रतिशतका साथ १०४१ अंकले घट्यो।
बीएसईले १९.४ लाख करोड रुपैयाँको घाटा बेहोरेको छ र विश्लेषकहरूले आगामी दिनमा यो अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। एशियाबाहेक विश्वका अन्य बजारहरूमा पनि यस्तै गिरावट आएको छ।
ट्रम्प ढुक्क
आफूले लगाएको ट्यारिफपछि विश्व शेयरबजारमा उथलपुथल आउँदा पनि ट्रम्प भने ढुक्क छन्। उनले बजारमा देखिएको उथलपुथलको बारेमा आफ्नो राय दिएका छन्। अमेरिकी राष्ट्रपतिको विमान एअर फोर्स वानमा यात्रा गर्दा ट्रम्पले पत्रकारहरूसँग कुरा गरेका थिए। उनलाई शेयरबजारको बारेमा सोधिएको प्रश्नमा उनले भने, "बजारमा के हुनेवाला छ भनेर म भन्न सक्दिन। तर हाम्रो देश अझै बलियो छ।" उनले थपे, "म केही बिग्रिएको हेर्न चाहन्न, तर कहिलेकाहीँ तपाईंले चीजहरू ठीक गर्न औषधि खानुपर्छ।"
उनले आफूले लगाएको ट्यारिफको बचाउ गर्दै आएका छन्। यसले गर्दा अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको उनको दाबी छ।
विज्ञ के भन्छन्?
ट्रम्पले विश्वका धेरै देशहरूमा पारस्परिक भन्सार लगाएर शेयरबजारमा उथलपुथलको सम्भावना बढाएको आर्थिक विज्ञहरू विश्वास गर्छन्। यस विषयमा आर्थिक विश्लेषक जुलिया लीले बीबीसीसँगको कुराकानीमा भनेकी छन्, "सबै शेयरबजार घट्दो क्रममा देखिएको छ। सबै क्षेत्रमा कम कारोबार भइरहेको छ। अमेरिकामा कम कारोबार हुनुले आज राति वाल स्ट्रिटमा फेरि कठिन समय आउने संकेत गर्छ।" यसले मुद्रास्फीति र मन्दीको डर बढाइरहेको उनको भनाइ छ।
यस्तै, अर्का आर्थिक विज्ञ नील न्यूम्यानले पनि बीबीसीको बिजनेस टुडे कार्यक्रममा यस विषयमा आफ्नो विचार व्यक्त गरेका छन्। उनले शेयरबजारमा सुधार आउने सम्भावना रहेको तर मन्दीको खतरा भने बढ्दै गएको बताए। नील न्यूम्यान जापानी कम्पनी एट्रिस एडभाइजरी टोकियोमा रणनीति प्रमुख हुन्।
जापानको शेयरबजारमा बैंकिङ स्टक, धातु, खनिज र प्रविधि उद्योगहरू नराम्रोसँग प्रभावित भएका छन्। उनले भने, "अमेरिका एउटा महत्त्वपूर्ण बजार हो, तर यो संसारको एक मात्र बजार होइन। जापान, चीन र दक्षिण कोरियाबीच वार्ता शुरू भइसकेको छ।"
न्युम्यानले भने, "नयाँ व्यापार सम्बन्ध नबनेसम्म, विश्वभर मन्दीको खतरा कायम रहनेछ।"
–एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
