रेबिज लागेको कुकुरले टोक्दा १२ जना घाइते

कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।

झापा– कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्। बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं–६ मा तीन दिनयता कुकुरले टोकेर घाइते हुनेको संख्या १२ पुगेको हो।

घाइते हुनेमा चार वर्षीया बालिकासहित चार जना महिला र आठ जना पुरुष छन्। पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उनले बताए। कुकुरको टोकाइबाट घाइते भएकाहरूलाई बनियानी स्वास्थ्य केन्द्रमा आज बिहानदेखि रेबिजविरुद्धको खोप लगाउन शुरू भएको छ। उनले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए।

पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज बिहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए।