साताको पहिलो कारोबार दिन ३३ अंकले घट्यो शेयरबजार

गत साताको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएको नेप्से सोमबार भने ३३.३३ अंक घटेर २,६७०.०६ को विन्दुमा झरेको छ।

काठमाडाैँ– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएको नेप्से सोमबार भने ३३.३३ अंक घटेर २,६७०.०६ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ७ अर्ब ८४ करोडको कारोबार भएको बजारमा आज ३२२ शेयर खरिदबिक्रीमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत तथा बुटवल पावर कम्पनीको शेयरमूल्य ६.६३ प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंक र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ। त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।