त्रिभुवन विमानस्थलबाट झन्डै ९ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका उनलाई विमानस्थलको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनले भने, “थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका निजलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको हो।”

पक्राउ परेका निजलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।