दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

निर्वाचनका लागि आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ। मत सर्वेक्षणमा विपक्षी नेता ली जे–म्युङ अग्रस्थानमा छन्।

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक-सु। तस्वीर: एएफपी

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति एवं प्रधानमन्त्री हान डक–सुले जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन्। 

मुलुकका पूर्वराष्ट्रपति युन सुक योललाई पदबाट हटाइएपछि निर्वाचनको घोषणा भएको हो। गत हप्ता अदालतले युनको महाभियोगलाई सदर गरेको थियो। उक्त फैसलाले उनलाई हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो।

सरकारले राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको प्रधानमन्त्री हान डक–सुले बताए। सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक रहेको कुरालाई पनि ध्यानमा राखिएको उनको भनाइ छ। 

प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न निर्देशन दिए। नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको संक्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिन नै पदमा नियुक्त हुनेछन्।

आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ। विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा छन्। पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उनको समर्थन दर ३४ प्रतिशत रहेको छ।

सन् २०२२ को राष्ट्रपति चुनावमा उनी युनसँग थोरै मतले पराजित भएका थिए। दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु छन्। नौ प्रतिशत मत पाउँदै उनले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताको समूहको अगुवाइ गर्दै छन्।