अछाममा नक्कली कागजात बनाएर वन फडानी गरेको आरोपमा १ जना पक्राउ

नक्कली कागजात तयार पारेर वन पैदावारको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अछाम– कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन्। उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मंगलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए।  

वन ऐन, २०७६ मा २ लाख रुपैयाँभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने व्यवस्था छ ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो फडानी गरिएको छ। चोत्रोको प्रतिकिलो १० रुपैयाँ बिगो हुने भएकाले ४० हजार जरिबाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ। 

नक्कली कागजात तयार पारेर वन पैदावारको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ।