विज्ञानको चमत्कार: फर्कियो १२ हजार वर्षपहिले लोप भएको ब्वाँसो

 यी सेता ब्वाँसाहरूलाई 'डायर वुल्फ' भनिन्छ, जो १२ हजार वर्ष पहिले नै लोप भइसकेका थिए।

काठमाडाैँ– यदि तपाईंले लोकप्रिय अमेरिकी टेलिभिजन शृंखला 'गेम अफ थ्रोन्स' हेर्नुभएको छ भने स्टार्क परिवारका ब्वाँसाहरूबारे थाहै होला। यी सेता ब्वाँसाहरूलाई 'डायर वुल्फ' भनिन्छ, जो १२ हजार वर्ष पहिले नै लोप भइसकेका थिए।

विभिन्न साहित्य तथा पौराणिक कृतिहरूमा मात्र सीमित ती ब्वाँसा फेरि धर्तीमा देखिएका छन्। सफलताको अर्को खुड्किलो पार गर्दै विज्ञानले तिनीहरूलाई फेरि जीवन दिएको छ। वैज्ञानिकहरूले आनुवंशिक इन्जिनियरिङ मार्फत लोप भएको प्रजाति डायर वुल्फलाई पुनर्जीवित गरेका हुन्।

पाँच महिनाको रामोस

लोप भइसकेका प्रजातिहरूलाई पुनरुत्थान गर्ने कम्पनी टेक्सासस्थित कोलोसल बायोसाइन्सेसले प्राचीन डीएनए, क्लोनिङ र जीन सम्पादन प्रयोग गरेर भयानक ब्वाँसोका बच्चाहरू सिर्जना गरेको हो। ती ब्वाँसाहको हजाराैँ वर्ष पुरानो जीवाश्मबाट वंज्ञानिकहरूले डीएनए संकलन गरेका थिए। यसरी आनुवंशिक इन्जिनियरिङको सहयोगमा तीन वटा डायर ब्वाँसाका बच्चा जन्मिएका छन्। तिनीहरूको नाम रोमुलस, रेमस र खलिसी राखिएको छ। तीनदेखि छ महिना मात्र भएका तिनीहरूको आकार लगभग चार फिट छ भने तौल ३६ किलोभन्दा बढी छ।

हजाराैँ वर्ष पुरानो जीवाश्मबाट वंज्ञानिकहरूले डीएनए संकलन गरेका थिए।

कोलोसलका सहसंस्थापक तथा हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा आनुवंशिकीका प्राध्यापक जर्ज चर्चले टाइम पत्रिकासँग कुराकानी गर्दै यसलाई 'गेम चेन्जर' बताएका छन्।

ती ब्वाँसाहरू अहिले स्वस्थ जवान डायर ब्वाँसोको रूपमा बाँचिरहेका कम्पनीले जनाएको छ। तिनीहरूको व्यवहार सामान्य ब्वाँसोका भन्दा फरक छ। रोमुलस र रेमसले आफ्नो दूरी कायम राख्छन् र कुनै मानिस नजिक आउँदा पछि हट्छन्। यो व्यवहार विशेष गरी डायर ब्वाँसोमा प्रचलित मानिन्छ।

यस्तै, अमेरिकी अर्बपति एलोन मस्कले टाइम म्यागजिनमा प्रकाशित उक्त समाचार शेयर गर्दै लोप भइसकेको अर्को जनावर म्यामथलाई पनि जीवित पार्न अनुरोध गरेका छन्। उनी भीमकाय स्वरूपको म्यामथलाई सानो पाल्तु जनावरको रूपमा हेर्न चाहन्छन्।