चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी

युक्रेनी सेनाले दुई चिनियाँ नागरिकलाई पक्राउ गर्दै उनीहरू रुसी सेनासँग युक्रेनविरुद्धको युद्धमा संलग्न भएको दाबी गरेको छ।

काठमाडाैँ– युक्रेनी सेनाले दुई चिनियाँ नागरिकलाई पक्राउ गर्दै उनीहरू रुसी सेनासँग युक्रेनविरुद्धको युद्धमा संलग्न भएको दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, "यो युक्रेनी सीमामा रहेको डोनेट्स्क क्षेत्रमा भएको हो। यी व्यक्तिहरूसँग परिचयपत्र, बैंक कार्ड र व्यक्तिगत जानकारी पनि फेला परेको छ।"

ती दुई व्यक्तिबाहेक युक्रेन नजिकैको क्षेत्रमा रुसी सेनासँग अन्य धेरै चिनियाँ नागरिकहरू रहेको रिपोर्ट गरिएको जेलेन्स्कीले दाबी गरेका छन्। उनले लेखेका छन्, "हामी यी तथ्यहरूको अनुसन्धान गरिरहेका छौँ। गुप्तचर विभाग, युक्रेनको सुरक्षा सेवा र सेनाका सम्बन्धित विभागहरूले यसमा काम गरिरहेका छन्।"

जेलेन्स्कीले युक्रेनका विदेशमन्त्रीलाई तुरुन्तै चीनसँग सम्पर्क गर्न र यस विषयमा छलफल गर्न आग्रह गरेको बताएका छन्। 

यसैबीच, युक्रेनका विदेशमन्त्री एन्ड्रिया सिबिहाले पनि सामाजिक सञ्जालमा एक पोस्ट मार्फत यस विषयमा प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, "हामी युक्रेनमा रुसी सेनासँग चिनियाँ नागरिकहरूको संलग्नताको कडा आलोचना गर्छौं। हामीले युक्रेनका लागि चिनियाँ राजदूतलाई यस विषयमा हाम्रो आपत्ति व्यक्त गर्न र उनको स्पष्टीकरण माग्न परराष्ट्र मन्त्रालयमा बोलाएका छौँ।"