अछामको जयगढ बजारमा आगलागी, २७ घर जले

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको छ।

अछाम– बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट ७ करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। 

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट ७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिए। पीडितबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने उनले बताए।