नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने एडीबीको प्रक्षेपण

अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ। 

काठमाडौँ– एशियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा एशिया क्षेत्रको आर्थिक वृद्धिदर ४.९ र नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडीबीले बुधबार ‘एशियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एशियाली मुलुकको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो। 

अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ।

अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडीबीले जनाएको छ। अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ। 

त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा २.३ र सन् २०२६ मा २.२ प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ। सन् २०२४ मा एशिया क्षेत्रको मुद्रास्फीति २.६ प्रतिशत थियो।

नेपालको मुद्रास्फीति भने सन् २०२५ मा ५.२ र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान गरिएको छ। गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृंखलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडीबीले जनाएको छ। सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरिएको छ।

“अप्रिलको शुरूआतमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ। व्यापार क्षेत्रमा थप अनिश्चितता देखिन सक्छ,” प्रतिवेदनमा भनिएको छ।

साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ। मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृंखलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन-रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडीबीको अनुमान छ।