रोजगारोन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी

श्रम मन्त्रालय, राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडाैँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै रोजगारोन्मुख सीप विकास तालिम सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सोही कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा अगाडि बढाउन खोजीरहेको बताए।

"बजारमा आवश्यक भएको दक्ष जनशक्ति निर्माण गरेर उनीहरूलाई उत्पादनशील क्षेत्रसँग जोड्दै मुलुकको उत्पादन बढाउँदै समृद्ध बनाउनुपर्छ," उनले भने, "यसमा तीन वटा बुँदालाई अगाडि सारेका छौँ, एकमा सीप, दोस्रो सीप र तेस्रो पनि सीप नै। जबसम्म सीपयुक्त जनशक्ति तयार हुन सक्दैँन तबसम्म हामीले भएका सम्भावना पनि प्रयोग गर्न सक्दैँनौ।" वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो भनेर सरकार अगाडि बढेको पनि उनको भनाइ छ।

तीन पक्षबीच हस्तकला सम्बन्धी पेशाको क्षेत्रमा विकास समिति गठन आदेश, २०८० को दफा ७(ङ) बमोजिम समझदारी भएको हो। रोजगारोन्मुख सीप विकास तालिम मार्फत रोजगारदाता संस्थाका लागि दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी न्यूनीकरण गराउने उद्देश्य लिइएको छ।

यस समझदारीबाट औधोगिक प्रतिष्ठान वा उद्योगी संघ/संस्था वा तालिम प्रदायक सस्थाहरूसँगको समन्वय र सहकार्यमा रोजगारोन्मुख सीप विकास तालिम, उद्यमशीलता विकासलगायत तालिम सञ्चालन गरिने जनाइएको छ।