बझाङमा चट्याङ लागेर एकको मृत्यु

वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै परेको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको छ। 

चैनपुर– बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो। 

घरमा बसिरहेका उनलाई चट्याङ लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। लगातार पानी परिरहेको र चट्यानको जोखिमसमेत भएको हुँदा सतर्क रहन पनि उनले आग्रह गरे। 

यसैबीच, केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो। 

वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।