ज्येष्ठ सदस्य राणाले सांसदलाई शपथ गराउँदै, शपथअघि सर्वदलीय बैठक

ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराउँदै छन्। सभामुख चयन नहुन्जेल संसद् बैठकसमेत उनैले सञ्चालन गर्नेछन्। 

काठमाडौँ– प्रतिनिधिसभाका सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन्।

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले दिउँसो १ बजेदेखि शपथ खुवाउने कार्यक्रम छ। राणाले भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरिसकेका छन्।

सांसद आफूले रोजेको मातृ भाषामा शपथ लिन पाउने व्यवस्था संसद् सचिवालयले गरेको छ। राणाले सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यको हैसियतले संसद् बैठक सञ्चालन गर्नेछन्। यसअघि २०७४ सालमा निर्वाचित सांसदलाई ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले शपथ गराएका थिए।

यसैबीच संसद् सचिवालयले सांसदको शपथअघि सर्वदलीय बैठक बोलाएको छ। राणाको अध्यक्षतामा बस्ने बैठकमा सचिवालयले प्रतिनिधिसभाको कामकारबाही, सेवा सुविधालगायतका बारेमा जानकारी गराउनेछ।

संसद्मा प्रतिनिधित्व गर्ने १२ दलबाट एक/एक र स्वतन्त्र सांसदलाई सचिवालयले बैठकमा डाकेको हो।