वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो भएकाले सवारी आवतजावतमा कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको छ।

तस्वीर: रासस

मध्यविन्दु– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) एसपी यादव ढकालले बताए। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु अलपत्र परेका छन्। 

दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ देखि ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत शुरू गरिएको थियो। वैशाख १ देखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तार गर्ने तयारी छ।