२०८१ सालमा प्रदर्शन भएका पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा–५ र बोक्सीको घर चलचित्रले घरेलु बजारमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
काठमाडौँ– नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो। यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बजारमा ऐतिहासिक व्यापार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ कारोबार गरेको तथ्यांक छ। त्यसले २०८१ सालमा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो। यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ।
यसका साथै यस वर्ष चार चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको व्यापार घरेलु बजारमा गर्न सफल भएका छन्। चलचित्र विकास बोर्डको तथ्यांकानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदै छन्। यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ। विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुंगो लाग्ने गरेकाले अंक तलमाथि हुनसक्ने बोर्डको भनाइ छ।
‘पूर्णबहादुरको सारंगी’ बाहेक यस वर्ष घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्यांक छ। यो वर्षको शुरूआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो। चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो। केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो। यसले अकल्पनीय व्यापार गर्यो।
बक्स अफिसको तथ्यांकानुसार यस चलचित्रको घरेलु बजारमा १० करोड दुई लाखको व्यापार भएको छ। यो चलचित्र सफलताको श्रेय गीतसंगीत र विषयलाई जान्छ। त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ। यसपछि दशैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो।
बक्स अफिसको तथ्यांकानुसार ‘१२ गाउँ’ले १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले १५ करोड २० लाखको व्यापार गरेको छ। अन्य चलचित्रको व्यापार बढेता पनि शृंखलालाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ। यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ। नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए।
“लुट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो, त्यस्तै एउटा चलचित्र अहिले चाहिएको छ, जसले नयाँ उचाइ पाओस् र शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस्, यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा म सहमत छैन, किनकि एक–दुई चलचित्रको सफलताभन्दा पनि समग्र वर्षको समीक्षा गरेर हेर्नुपर्छ,” उनी भन्छन्।
तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारंगी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो। यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ। कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको उनले बताए। “निर्माताको समस्या नै चलचित्र निर्माणमा बढेको महँगाइ हो, कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक पक्षमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु, तर पूर्णबहादुरको सारंगीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आँट दिएको छ, त्यसकारण पनि आउँदो वर्ष धेरै चलचित्र प्रदर्शन हुनेछन्,” उनले भने।
चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ। यसले घरेलु बजारमा ७ करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ। उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन्। गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए।
“नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो, व्यापार नभएपछि निर्माताले लगानी गर्दैनन्, तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आँट दिएको छ, आउँदो वर्षमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा म विश्वस्त छु,” उनी भन्छन्।
यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले ७ करोड ३७ लाख, ‘घरज्वाइँ’ले ५ करोड ९ लाख, ‘फर्की फर्की’ले ४ करोड ८४ लाख, ‘मनसरा’ले ४ करोड ७८ लाख र ‘लाज शरणम्’ले ४ करोड ३४ लाख रुपैयाँ व्यापार गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
