सामान्य अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको छ।

काठमाडाैँ– साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको छ। साथै सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंक घटेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३२१ स्टकको १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्रीमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट देखिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट तहमा कारोबार भएको हो। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ। बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य भने सर्वाधिक ४.३७ प्रतिशत घटेको छ।

कूल १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९० प्रतिशतले घटेको छ।