अनुदान दिएर उद्यम प्रोत्साहन गर्ने सूर्योदय नगरपालिकाको प्रयास

‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन।’

इलाम– कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो। फेरि विदेश जाने मन थिएन। विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो। गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उनी दोधारमा थिए। 

“गत साल सूर्योदय नगरपालिकाले कुखुरा पाल्न अनुदान दियो,” मुखियाले भने, “नगरपालिकाले सात दिनको उद्यमशीलता तालिमसँगै कुखुरा पालन गर्न ४० हजार अनुदान पनि दिएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ। अब विदेश जान्न” 

डेढ लाख लगानीमा व्यवस्थित खोर बनाएर ६०० वटा चल्ला पालेका उनले कुखुरा बेचेर मनग्गे आम्दानी गरिरहेका छन्। उक्त वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी, विराज तामाङले पनि  नगरपालिकाको अनुदानबाट कुखुरा पालन गरिरहेका छन्। 

साढे तीन वर्ष साउदी अरब बसेकी सपना सुवेदीलाई त्यहाँको दुःख सम्झिँदा आङ सिरिंग हुन्छ। बाख्रा र कुखुरापालन सँगै चियाखेतीमा व्यस्त उनी पनि विदेश नजाने अठोटका साथ कृषि कर्ममा रमाएकी छन्। नगरपालिकाबाट उनले १ लाख रुपैयाँ ऋण अनुदान लिएकी छन्। 

“गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन,” कुखुरालाई दाना दिँदै उनले भनिन्। 

स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरिएको नगरप्रमुख रणबहादुर राईले बताए। व्यक्तिगत रूपमा १ लाखसम्म र समूह वा सहकारीमा आबद्ध भएमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म बिना ब्याज ऋण दिइने उनले जानकारी दिए।