ऊर्जा राज्यमन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टीकरण

आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्। आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण बुझाउन पठाएको पत्रअनुसार जलस्रोत तथा सिँचाइ विभाग जावलाखेलले चैत २५ गते सिँचाइ दिवस एवं ७२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएपछि राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी थिए।

उद्‌घाटन समारोहमा कार्यक्रम सञ्चालकले आसन ग्रहणका लागि बोलाउँदा मञ्चमा सहभागी नभई सचिव आचार्य बाहिरिएको पत्रका उल्लेख छ। त्यसपछि राज्यमन्त्री तामाङले सचिव आचार्यले आफ्नो अवहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेका हुन्।

“तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नु भएको हो?,” पत्रमा भनिएको छ, “राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुका साथै पदीय गरिमासमेत पालना गर्न नसकेको नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईंलाई अनुशासनको कारबाही किन गर्नुनपर्ने हो?”

उक्त स्पष्टीकरणबारे प्रधानमन्त्री केपी शर्मा ओली उर्जामन्त्री दीपक खड्का र मुख्य सचिव एकनारायण अर्याललाई जानकारी दिइएको छ।