म्याग्दीमा अस्पताल भवन अलपत्र

दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७८ असारमा ९ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।

म्याग्दी– मंगला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ। भवनको २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी ९ करोड ११ लाख रुपैयाँमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो। 

पछिल्लो एक वर्षयता कुनै पनि भौतिक प्रगति नभएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले बताइन्। “भवनको भुइँ तलासम्म ढलान गरेका निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा फर्किन अटेर गरेका छन्,” उनी भन्छिन्, “निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल अलपत्र परेको हो।”

क्षेत्रीका अनुसार हालसम्म करिब १० प्रतिशतमात्र भौतिक प्रगति भएको छ। एक हजार १२४.६४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा ३५ कोठा हुनेछन्। आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, औषधि भण्डारण, प्रशासन, चिकित्सक र स्वास्थ्यकर्मीको आवाससहितको भवन अपांगमैत्री र भूकम्प प्रतिरोधी हुने उनले बताइन्। 

सम्झौतापछि प्रारम्भिक चरणमा जग्गा व्यवस्थापन गरेर सम्पर्कविहीन भएको ठेकेदारको धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि २०८० साल मंसिरमा काममा फर्किए थिए। कामलाई निरन्तरता नदिएपछि पुनः कारबाही प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ। 

प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने संघीय सरकारको नीतिअनुसार २०७७ पुसमा भवन निर्माण थालिएको थियो। जसका लागि स्थानीयले ६ रोपनी जग्गा उपलब्ध गराएका छन्। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ८ करोड रुपैयाँ खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन चिकित्सक र उपकरण अभावमा सञ्चालन नहुँदा भवन परिसर झाँडीमा परिणत भएको छ। धवलागिरि गाउँपालिकाको ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण भने सुस्तगतिमा अघि बढेको छ।

रघुगंगा गाउँपालिकामा स्थान विवादका कारण अस्पताल भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गरिएको छ। बेनी नगरपालिकामा ५० शय्या क्षमताको प्रादेशिक बेनी अस्पताल निर्माण गरी सञ्चालनमा आएको छ।