दुई महिनामै नेझा–२ एनिमेसनतर्फ विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सारको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।
भर्खरै जन्मिएको एउटा बालक, जो जन्मअघि नै देवताको श्राप पाएर केवल ३ वर्षको आयु लिएर आएको छ। ऊ दानवी आत्माको अवगुणसहित जन्मिएको छ। अनौठो के भने, उसका बुबाआमा सो क्षेत्रको रक्षक हुन्। रक्षकबाट जन्मिएको सन्तानको राक्षस आत्मा त्यहाँका प्रजाले स्विकार्न सक्दैनन्।
यद्यपि, बुबाआमाको याचनपछि ती बालकलाई छाडिन्छ। उनलाई घरको सुरक्षा परिधिभित्रै राखिन्छन्। ती बालक हुन्– नेझा।
नेझाका बुबाआमा सधैँ प्रजाको सुरक्षामा खटिएका हुन्छन्। यसकारण नेझालाई समय दिन पाउँदैनन्। अबोध बालक आफ्नै घरको सुरक्षा परिधिभित्र छन्। वर्षभरि एक्लो समय व्यतित गर्छ। उसले बालसुलभ कामहरू गर्नै पाउँदैन। यसरी विकसित हुने व्यक्तित्वको चित्रण चिनियाँ फिल्म नेझामा देखाइएको छ।
नेझा र ओ विन्गको मित्रता, खेल्ने खेल, बिस्तारै विकसित भइरहने विरोध शैली चलचित्रको कथावस्तु हो। यो कथा नेझाको पहिलो भागमा छ।
यसकै ‘सिक्वेल’ नेझा–२ आफ्नो समाजमा राक्षसबाट मान्छेको व्यवहार पाएका उनले देवता भनिएको परमात्मासँग गर्नुपर्ने संघर्ष देखाइएको छ। वास्तवमा नेझा आफैमा पनि चिनियाँ लोककथामा प्रचलित लोकप्रिय पात्र हो। तिनै पात्रलाई लिएर बनाइएको ‘एनिमेसन फेन्टासी’ नेझा र यसको सिक्वेललाई यु याङले निर्देशन गरेका छन्।
बक्स अफिस बिस्ट
नेझा–२ २०२५ जनवरी २९ मा रिलिज भएको थियो। फेब्रुअरी र मार्च सम्ममा विश्वभर रिलिज भयो। पहिलो फिल्म नेझा भने सन् २०१९ मा रिलिज भएको थियो। त्यस बेला यसले कुल १ अरब डलर कमाइ गरेको थियो।
सन् १९७९ मा पनि सोही कथावस्तुमा बनेको एनिमेसन फिल्म पनि चर्चित भएको थियो। त्यो फिल्मको नाम नेझा नै थियो। त्यसको ४० वर्षपछि नयाँ प्रविधिसहित बनेको अर्को फिल्म नेझाले विश्वभर चर्चा पाइरहेको छ।
नेझा–२ ले बक्स अफिसमा रिलिजको पहिलो तीन दिनमा १.१ बिलियन युआन कलेक्सन गरेको थियो। चौँथो दिनमा २ बिलियन युआन नाघ्यो। पाँचौँ दिन ३ बिलियन र छैटौँ दिन ४ बिलियन युआन कलेक्सन गर्यो। यसरी यो फिल्मले ‘डिक्टेटिभ चाइना टाउन–३’ फिल्मकोे कीर्तिमान तोडेको थियो।
आठौँ दिनमा नेझाको कमाइ ५ बिलियन पुग्यो, यससँगै ‘ब्याटल अफ लेक अफ चान्गिन’को कीर्तिमान पनि तोडियो। नवौँ दिनमा ६ बिलियन कमाइ भयो। त्यस बेलासम्म नेझा र नेझा–२ सिक्वेलको कुल कमाइ १० बिलियन युआन पुग्यो। सन् २०१७ मा रिलिज भएको ‘वर्ल्ड वारियर’को कमाइलाई उछिन्दै गत फेब्रुअरीमा नेझा–२ ले ७.२ बिलियन युआन कलेक्सन गर्यो। मार्च ९ सम्ममा नेझा–२ को कमाइ २ बिलियन डलर पुगेको छ।
प्रायः पहिलो फिल्म हिट भएपछि सिक्वेल बनाइन्छ। तर नेझाको पहिलोभन्दा सिक्वेल नेझा–२ ‘ब्लकबस्टर’ बनेको छ। दुई महिनामा नेझा–२ एनिमेसनतर्फ विश्वभर अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सार फिल्मको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।
त्यस्तै, अवतार, टाइटेनिकजस्ता सदाबहार उच्च कमाइ गरेका फिल्मको सूचीमा नेझा आठौँ स्थानमा छ। नेझाको यो उपलब्धिलाई प्रविधि, अर्थ, विकाससँगै फिल्ममा चिनियाँहरूको प्रगतिको नयाँ ‘बेन्चमार्क’ मानिएको छ।
चिनियाँ कथावस्तुमै यसअघि पनि फिल्म नबनेका होइनन्। ‘कुङ फु पान्डा’, ‘द मंकी किङ’ लगायत फिल्मले चीनबाहिर पनि दर्शक तान्न सफल भएका थिए। यद्यपि, यी फिल्म अमेरिकन कम्पनीले बनाएका थिए।
एनिमेसन फिल्म बनाउने अमेरिकी कम्पनीहरू विश्वमै चर्चित छन्। पिक्सर, वाल्ट डिज्नी, निकोलोडियन, वार्न ब्रोज, सोनी पिक्चर्सले बनाएका इन्साइट आउट, द जंगल बुक, मिकी माउस, गडजिला, होटल टान्सभेनियालगायत फिल्मले विश्वभर नै दर्शक ताने।
फिल्ममा पात्रका अनुहार, जिउडाल, पहिरन, पृष्ठभूमिलाई मिहिन ढंगले केलाइएको छ। अनुमान गर्न सकिने ‘सस्पेन्स’ र कथनशैलीलाई फिल्मको कमजोर पक्षको रूपमा समीक्षकहरूले औँल्याएका छन्। समीक्षक फ्रेड हाब्सनका अनुसार, पछिल्लो तीन ओस्करका एनिमेटेड विधामा निरन्तर डिज्नीबाहेकको कम्पनीले बनाएका फिल्मले जितिरहँदा अर्को वर्षको लागि नेझा पनि बलियो दाबेदार भएको छ।
नेझाको सफलताः पूर्वी दर्शन
लामो समय एनिमेसन विधा पश्चिमी शैलीबाट प्रभावित थियो। ‘हिरो’ र ‘भिलेन’मार्फत बुनिएका कथाको आधारमा बन्थे। नेझामा भने मिथकीय कथनशैली, पूर्वीय समाजको सिद्धान्त र प्रविधिको मिश्रणले फरक स्वाद दियो। यो फिल्मबारे कमिक बुक मुभिज लेख्छ, “विश्वभरका दर्शकमा चलिरहेको हलिउडको नियमित लयभन्दा नेझा यस्तो फरक ताजा स्वाद लिएर आयो, जुन यसको सबल पक्ष भयो।”
चीनमै पनि राष्ट्रभक्तिभन्दा फरक स्वादको फिल्म भएको कारण सफल भएको द गार्जियनले लेखेको छ। गार्जियनमा भनिएको छ, “ब्याटल अफ लेक चान्गिन र वल्फ वारियर–२ ले देशभक्ति, राष्ट्रभक्तिको फिल्म बनाइरहेका थिए, नेझा चिनियाँ दर्शकको लागि पनि फरक स्वादमा बन्यो। यसको अर्थ चिनियाँहरू राष्ट्रभक्तिबाट विमुख भए भन्ने पक्कै होइन, तर नेझामा उनीहरूले आफूलाई पाइरहेका छन्।”
फिल्मले चिनियाँ सरकारलाई कटाक्ष गरेको र चिनियाँ युवाको असन्तुष्टि देखिने द गार्जियनले लेखेको छ। फिल्ममा जसरी अन्यायको सामना र शक्तिशाली निकायसँग टकराव छ, त्यसलाई सांकेतिक रूपमा देखाइएको गार्जियनले उल्लेख गरेको छ।
मिथक, लोककथा र नयाँ प्रविधिको प्रयोगले फिल्म सरल भएको फिल्मविज्ञ सिं वेन्स्वे बताउँछन्। “फिल्ममा हरकोही पात्र आफैमा दुविधाको भुमरीमा छन्, जहाँ दर्शकले आफूलाई पाउँछन्। पात्रले देखाएको आत्मविश्वासले भने हौसला दिन्छ। जीवनको कतिपय मोडमा हामी सदाचारी हुन्छौँ, कहिलेकाहीँ झूटको सहारा पनि लिनुपर्छ,” उनले भनेका छन्।
द स्टारले नेझा र ओ बिन्ग (अर्का पात्र) ताउ धर्मको सिद्धान्त ‘यिंग–याङ’मा आधारित भएको उल्लेख गरेको छ। ताउ धर्ममा सत्य र असत्य एकअर्काका परिपूरक मानिन्छन्। फिल्ममा नेझा र ओ बिन्ग पनि परिपूरक हुन्, जहाँ सैतान मानिएका नेझा आफ्नो पुत्रत्व जिम्मेवारीको पालना गर्दैछन्। सैदान्तिक र गुणकर मानिने ओ बिन्ग परिवारको जिम्मेवारी र दायित्वका कारण केही समय गलत बाटोमा अल्झिन्छन्।
नेझा–२ को रिलिज चिनियाँ नयाँ वर्षको समयमा भएको थियो। त्यस समय हुने लामो बिदाले पनि शुरूआतमा दर्शक बटुल्न सजिलो भएको बताइन्छ। ग्लोबल टाइम्सका अनुसार, चीनको सान्दन प्रान्तको एक कम्पनीले आफ्ना एक हजार कर्मचारीलाई फिल्म देखाउन ४० हजार युआन खर्च गरेको थियो।
बारहरूमा नेझाको रिब्रान्डिङमा विभिन्न ककटेल ड्रिंस पनि बनाइएको थियो। कतिपय हेयर ड्रेसरले नेझा फिल्म हेरेको टिकट साथमा ल्याए डिस्काउन्टको व्यवस्था गरेका थिए। यसरी चिनियाँ आफैले पनि फिल्म प्रबर्द्धन गर्नुको पछाडि चिनियाँ दर्शन र मिथमा फिल्म बनाउनु नै भएको समीक्षकहरूको टिप्पणी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
