दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ– राजसंस्था समर्थकको आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

चैत्र १५ गते काठमाडौँको तीनकुने घटनामा संलग्न रहेका आरोपमा शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले शुक्रबार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।  

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रसाईंसहित उनका अंगरक्षक दीपक खड्कालाई समेत १२ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। दुवै जनामाथि राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको हो।

चैत १५ गते तीनकुनेमा प्रसाईंको नेतृत्वमा आयोजित राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि सोही दिनदेखि उनी फरार थिए। उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। साथै निजी तथा सार्वजनिक भवन र सवारीसाधनमा आगजनी भएको थियो।