महोत्तरीको बलवान–११ मा भेटिए क्षयरोगका २५ संक्रमित

बलवान नगरपालिकाको वडा नं ११, धमौरा गाउँमा २५ जनामा क्षयरोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन्।

महोत्तरी– बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका संक्रमित भेटिएका छन्। यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको संक्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन्।

धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको संक्रमण देखिएको बताए। उनका अनुसार संक्रमितमध्ये ८० प्रतिशत स्थानीय मुस्लिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन्।

यस्तै, संक्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताए। स्थानीयले वडामा तत्काल बृहत् सचेतना अभियान सञ्चालन गरेर थप संक्रमितको खोजतलास गर्न र संक्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन्। 

क्षयरोग चुरोट, बिडी र धूमपान, धुवाँधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो। यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रूप लिन सक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ। नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ।