यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकीका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातसमेत हुनेछ। 

देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ। मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।