देशका विभिन्न भूभागमा बिहानैदेखि हल्का वर्षा

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकामा शनिबार बिहान हावाहुरीसहित वर्षा भएको छ। काठमाडौँसहित देशका केही भूभागमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँमा वर्षा हुन थालेपछि वातावरणमा देखिएको दूषित धुवाँ एवं तुवाँलो हट्ने अनुमान छ। दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुने जनाइएको छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको महाशाखाले जनाएको छ।