वर्ष २०८१ मा नेपाल: यी हुन् प्रमुख घटना

कांग्रेस र एमालेको सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, रवि लामिछानेको पक्राउ र कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने।

काठमाडौँ– अघिल्ला वर्षझैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो। मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने। वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यस प्रकार छन्:

राजनीतिक घटनाक्रम
वैशाख १७ गते– बझाङको प्रदेशसभा–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी।

वैशाख १८ गते– इलाम निर्वाचन– २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी।

वैशाख २७ गते– नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त। 

जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति।

जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत।

जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश।

जेठ २३ गते– मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल।

जेठ २५ गते– मधेश प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त।

असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता।

असार २० गते– नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन। 

असार २२ गते– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त।

असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त।

असार ३० गते– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त।

साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त।

साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त।

साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त।

भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस।

पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन।

चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन। 

चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कर्फ्यु आदेश।

चैत २० गते– नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन शुरू।

कूटनीति
वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण।

जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी।

जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान।

असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा।

भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा।

असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान।

कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान। 

मंसिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान।

चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता। 

अपराध
वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद।

वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी।

कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ। 

कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय। 

चैत ५ गते– काठमाडौँको टोखाबाट करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद। 

चैत २९ गते– काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट पक्राउ। 

पूर्वाधार निर्माण
वैशाख ३ गते– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाअन्तर्गत सुरुङमार्ग छिचोलियो।

माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरुङमार्गको सुरुङ सात महिनामै छिचोलियो। 

आर्थिक गतिविधि
वैशाख १५ गते– काठमाडौँमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा।

जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत

माघ १४ गते– अमेरिकी सहयोग नियोग (यूएसएड)मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित। 

चैत ९ गते– एमसीसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता। 

खेलकुद र पर्वतारोहण
जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा।

जेठ १९ देखि असार १५ गते– अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी मेन्स टी२० क्रिकेट विश्वकपमा नेपाल सहभागी। नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन। 

पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन। 

विविध
असार ९ गते– अख्तियार दुरुपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर। वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी।

साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित।

भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त।

कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ। 

मंसिर २ गते– पूर्वसभामुख दमनाथ ढुंगानाको निधन। 

मंसिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान। 

मंसिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर। 

फागुन ३ गते– संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते। 

फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढंगबाट मृत्यु।

फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन। 

चैत १ गते– उपभोक्ता अदालत गठन।

चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त। 

चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं पत्रकार माधवरसिंह बस्नेतको निधन। 

चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त।

चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं पत्रकार कमलप्रसाद कोइरालाको निधन। 

चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन।

घटना–दुर्घटना
असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु।

असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता। 

साउन ९ गते– काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु। 

साउन २३ गते– काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु। 

भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु। 

भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते। 

भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा छ जनाको मृत्यु। 

असोज १२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते। 

असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु। 

असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु। 

असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते।

मंसिर १४ गते– रामेछापको गोकुलगंगा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु। 

माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी।