एनएसएलः बराबरी खेल्दै झापा र पोखराले अंक बाँडे

नेपाल सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा झापा एफसी र पोखरा थन्डर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन्। 

खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि दुवै समूहले गोल गर्न सकेनन्। 

शनिबारको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल हो। यो खेलपछि पाँच खेल खेलेको पोखरा ५ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। झापा ४ खेलबाट ४ अंक बटुल्दै छैटौँ स्थानमा छ। यस दिनको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन्।