बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँको बबरमहलमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

काठमाडौँ– काठमाडौँमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए।