वीरगन्जमा जिल्ला प्रशासनले लगायो कर्फ्यु

दुई पक्षबीचको झडपका कारण छपकैया क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन कर्फ्युको आदेश जारी गरे‍को छ।

काठमाडौँ– पर्साको वीरगन्जस्थित छपकैया क्षेत्रमा शनिबार दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ। 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्म लागू हुने गरी वीरगन्ज महानगरपालिकाको केही स्थानमा कर्फ्युको आदेश जारी गरेका हुन्।

वीरगन्ज महानगरका भेडियाही चौक, सिर्सिया पुल, गण्डक चौक, शंकराचार्य गेट सीमाक्षेत्र तोकी आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

हनुमानको जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा छपकैया चोकमा शनिबार दुई पक्षबीच झडप भएको थियो।  झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही पसल र सवारीसाधनमा आगजनी भएको छ।

झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन्। उनीहरूको अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास र हवाई फायरसमेत गरेको थियो।