सडकमा शिक्षक: सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

काठमाडौँ– नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानीकेन्द्रित शिक्षक आन्दोलन शनिबार पनि जारी रह्यो। प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसंगीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ।

आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ। आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ।

अक्षर सिकाउने, लेखाउने अनि घोक्न लगाउने गुरुबा/आमा सम्मिलित आन्दोलन हालसम्म अरूलाई प्रेरणा दिने गरी शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ। आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, मादलसहित आन्दोलनमा सहभागी भएका देखिन्छन्। साथै, स्थानीय कलासंस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइने गरिएको छ। 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलन शुरू गरेको दशौँ दिन भयो। महासंघले सरकारले खास कुरा सुनेको छैन भन्ने लागे पनि नआत्तिईकन आन्दोलनलाई उचाइमा पुर्‍याउन साथ, सहयोग र समर्थनका लागि आह्वान गरिरहेको छ।

शनिबार पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, “दिनदिनै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र! भन्ने लाग्न सक्छ,  नआत्तिनुस् उपलब्धि हुने क्रममा छ। हामीले यहाँ आए र कराएको सरकारले हेरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन्, तपाईंहरूको मिहिनेत निरर्थक हुँदैन। आन्दोलन लम्बिन सक्छ तर थाक्ने र भाग्ने नगर्नुस्।”

धनुषाका शिक्षक सञ्जीवकुमार यादवले पेसागत हकहितका लागि बाध्यताले आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिए। “हामीहरूको एउटै माग मुद्दा भनेको सरकार र शिक्षक संगठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो,” उनले भने।

आन्दोलनमा सहभागी काभ्रेका शिक्षक कृष्णप्रसाद उप्रेतीले नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको प्रतिक्रिया दिए। “आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ”, उनले भने।

शिक्षक महासंघ खोलुखुम्बुका अध्यक्ष डण्डीकुमार खतिवडाले सरकारसँग विसं २०८० असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाए। “अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आएकाले यस पटक उधारो नभई परिणाम हात पारेर मात्र फर्कने प्रण गरेका छौँ,” उनले भने।

शान्तिपूर्ण भनिए पनि काठमाडौँको मूल सडकमै आन्दोलन गरिएकाले राजधानीको यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा भने दिनहुँ समस्या भइरहेको छ। साथै, सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी खटाउनु परिरहेको छ।

आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साबिक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन्।