गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ लोकार्पित

लेखकहरू यादव भट्टराई, मोहन मैनाली, अदिति शाह र लाठले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको पुरानो शहर वीरगन्जको कथाव्यथा प्रस्तुत गरिएको छ।

काठमाडौँ– लेखक, समाजसेवी तथा उद्यमी गणेशप्रसाद लाठद्वारा लेखिएको 'सीमान्त सम्झना' नामक कृति शनिबार एक समारोहबीच सार्वजनिक गरिएको छ।

उक्त कृति लेखक लाठ, समीक्षक यादव देवकोटा, मधेशमाथि अनुसन्धान गर्दै आएकी अदिति साह र पत्रकार–लेखक मोहन मैनालीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

नेपालले प्रकाशन गरेको ‘सीमान्त सम्झना’ मा लाठले वीरगन्जको ऐतिहासिक पृष्ठभूमि, व्यापारिक विस्तार, सामाजिक विविधता, सांस्कृतिक धरोहर र जीवनशैलीका विविध आयाम समेटेका छन्। उनले राणा शासनको अन्त्यदेखि प्रजातन्त्र स्थापनासम्मको ऐतिहासिक यात्रा र त्यसमा वीरगन्जले निर्वाह गरेको अग्रणी भूमिकालाई पनि पुस्तकमा समेटेका छन्।

कार्यक्रममा कृतिको समीक्षा गर्दै लेखक यादव देवकोटाले पुस्तकलाई सूचना र ज्ञानले भरिपूर्ण कृति भन्दै प्रशंसा गरे। उनले भने, “यो कृति बाँचेको शहरको यति चित्रात्मक र सजीव वर्णन हो कि सहरको नाम उल्लेख नगरे पनि पाठकले सहजै बुझ्छन्– यो वीरगन्ज हो।”

देवकोटाका अनुसार पुस्तकले वीरगन्ज शहरको निर्माणमा लाठका पुर्खाहरूले पुर्‍याएको योगदानलाई ऐतिहासिक सन्दर्भसहित स्मरण गराएको छ। “वीरशमशेरका चौधौँ भाइ शेरशमशेरलाई बडाहाकिम बनाएर पठाइएपछि कहवाक ग्रामको नाम परिवर्तन भएर वीरगन्ज रहन गएको इतिहास यस पुस्तकमा पाइन्छ,” उनले भने, “तर त्यहाँको बस्ती त्यसअघिदेखि नै रहेको तथ्य पनि पुस्तकले प्रस्ट्याउँछ।”

पुस्तकले वीरगन्जले कसरी मानिसको आकांक्षा, संघर्ष र सम्भावनालाई आत्मसात् गर्दै आफ्नो स्वरूप बनायो भन्ने कुरा प्रस्ट्याउने देवकोटाको धारणा छ। “यो शहर व्यापारको मात्र केन्द्र होइन, प्रजातन्त्र स्थापनाको संघर्षमा समेत अग्रपंक्तिमा उभिएको ऐतिहासिक भूमि हो भन्ने कुरा पुस्तकबाट थाहा हुन्छ,” उनले थपे।

देवकोटाका अनुसार लाठले केवल आफ्ना अनुभूतिहरू मात्र होइन, विभिन्न व्यक्तिहरूसँग गरिएका संवाद र अन्तर्वार्तामार्फत वीरगन्जको बहुआयामिक योगदानलाई उजागर गरेका छन्।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लाठले पुस्तक लेख्ने प्रेरणा आफ्नै बुवाको अनुभव सुन्दा आएको बताए। “म आर्थिक हिसाबले सुस्थित परिवारमा जन्मिएको भए पनि बाल्यकालमा वीरगन्जमा संघर्ष गर्दै हुर्किएको हुँ,” उनले भने, “त्यस्तै संघर्ष हाम्रा पुर्खाले पनि गरेको सुनेको थिएँ। त्यसैले हामीले जिएर आएका ती अनुभूति र संघर्षहरू नयाँ पुस्तासम्म पुर्‍याउन चाहेँ।”