सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको बताइएको छ।  

सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको छ। राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की गएको समयमा आगलागी भएको हो। 

अग्नि नियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले बताएका छन्। आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको बताइएको छ।  

स्टेट हाउसको तेस्रो र चौथो तलामा आगलागी भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आगलागीको कारण खुल्न नसकेको बताइएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।