नयाँ वर्ष वरदान देऊ

६२ वर्षअघि कवि भूपी शेरचन वीरगन्ज आउँदा आफ्नो ‘नयाँ वर्ष’ कविता रचना सुनाएको थिएँ।  त्यो कतै छापिएन र हरायो। यतिका वर्षपछि त्यही नयाँ वर्षको पुनरावृत्ति भएको छ, कवितामा।

यसपाला अचम्मै भयो। भुलिसकेको, बिर्सिसकेको एउटा ‘याद’ फर्किएर आयो। त्यो याद थियो, कविताको। आजभन्दा ६२ वर्षअघि म कवि–अवतारमा यो धर्तीमा फक्रन खोज्दै थिएँ। केही थान कविता लेखेर र त्यसको किताब आकार पाण्डुलिपि बनाएर छपाइको धुनमा वीरगन्जबाट काठमाडौँ आएको थिएँ।

यो वि.स. २०२१ सालको कुरा थियो। मदन पुरस्कार पुस्तकालयमा बुझाइएको त्यो पाण्डुलिपि वर्षौंवर्ष ओथारा बसेझैँ भयो, कता हरायो–कता बिलायो, पत्तो भएन। फेरि अनेक तरतिब र तालमेल जुटेर त्यो पाण्डुलिपि भेटियो, अनि छापियो पनि २०७९ सालमा— ‘ह्याङ्गरमा झुन्डिएको आकाश’ नाममा। 

यसरी एउटा चरण पूरा भएको थियो, कवि–आवरणको चरण। म आख्यान जगतको मान्छे, मोटो चिनारी यसैमा छ। तर, आफै चकित भएको छु यतिखेर। सुत्दा, बस्दा वा सपनीमा पनि कथा, आख्यानका प्लटहरू सम्झिरहने मभित्र यतिका वर्षपछि फेरि कविताको आत्मा छिरेझैं भयो। त्यो पनि नयाँ वर्ष २०८२ को मुखैमा। चैत २८ को मध्यान्हमा बसिरहँदा मैले यो देशको राजनीति सम्झिएँ, शिक्षक आन्दोलनदेखि राजा आऊ सम्मका अभियान–अभियन्ताहरू सम्झिएँ। मजदुर, नायक, खलनायक सबै सम्झिएँ— तर कविताका रूपमा— नयाँ वर्षलाई साक्षी राखेर। हो, बितेको समयमा गीतहरू त लेखेको थिएँ, तर कविता भने थिएन। रक–पप बान्कीमै भए पनि, कसैले र्‍याप नै भनिटोपल्छ भने पनि मैले कवितामा लेख्दै गएँ:

‘नयाँ वर्ष वरदान देऊ,
निर्दोषलाई बयान देऊ
मान्छेलाई सम्मान देऊ
मुलुकलाई उफान देऊ
अरू कुरा जान देऊ
नयाँ वर्ष वरदान देऊ...’ 

यसरी कुनै आत्माको शक्ति देखाउने वा देवी–देवता चढेको भन्दै फलाक्ने बिजुवाझैँ कविता चढेको अनुभूति भयो, वर्षौंवर्ष पछि। फेरि ‘नयाँ वर्ष’कै भावभूमीमा यसरी कविता उत्रनु एउटा संयोग मात्रै थिएन, यही ‘नयाँ वर्ष’कै पुरानो सन्दर्भ सम्झाउने क्षण पनि थियो।  

सन्दर्भ २०१९ सालको हो, जुन बेला कवि/लेखक र त्यो पनि काठमाडौँमा चर्चामा छाएका तथा त्यसमाथि उत्तम कुँवरको ‘रूपरेखा’मा कविता/कथा छपाउने लेखक भनेको सर्वश्रेष्ठ कोटीको ठहरिन्थ्यो। कवि भूपी शेरचन त्यसैमध्ये एक थिए, जो भर्खरै ‘हामी’ कविताका कारण चर्चाको शिखरमा थिए। 

भूपी एउटा संयोग पारेर वीरगन्ज आएका थिए। होटल हिमालयको भित्री कोठामा खचाखच थिए भूपीका फ्यानहरू। म पनि त्यहाँ मिसिएँ, भूपीको दर्शन पाउन र केही आशीर्वचन थाप्न। “म पनि कविता लेख्छु। तर हामी मोफसलमा बस्नेको कविताको के भाउ? न कसैले सुन्छ, न कतै छापिन्छ,” यसरी मनको बह पोखिरहेकै बेला भूपीले ‘रूपरेखा’का सम्पादक उत्तम कुँवरलाई पत्र लेखिदिएका थिए— यो नवकविको कविता छापिदिनु भनेर।

मैले पनि आफूसँग ‘नयाँ वर्ष’ शीर्षकको कविता साथैमा रहेको र यही ‘रूपरेखा’मा छपाउने सोचाइ रहेको बताएको थिएँ। यसो भन्नासाथ भूपीले ‘होइन, रूपरेखालाई अर्कै दिनुहोला। नयाँ वर्ष शीर्षकमा मैले पनि कविता लेखेको छु’ भनेर कविताको आकार–प्रकार फेर्न सुझाव दिएपछि ‘तटस्थता: असफलता’ शीर्षकको अर्को रचना ‘रूपरेखा’ लाई दिएको थिएँ, त्यो छापियो पनि। 

यसरी ‘नयाँ वर्ष’को संयोग र पुरानो कथानक फेरि ती दिनहरू सम्झाउने गरी आएको छ। भूपीजस्तो पारंगत त कहाँ हुन सक्नु? तैपनि शीर्षक भए पनि मिलेको छ, सन्तोष लाग्ने कुरा। कवि भूपीको ‘नयाँ वर्ष’को भावलाई भने धेरै पाठकले हृदयमा सम्झने गरेका छन्:

नयाँ सरुवा भई आएको हुलाकीझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ते–घडीको लङ्गुर हल्लिरहेछ उसको
पदचापले
टवाक्...टवाक्...टवाक्...टवाक् !

कविता भनेको भावना र संवेदनाको अलग विधा हो, कवि हुन त्यति सजिलो छैन। हुन त मैले लेखेको ‘विगत जस्तो केही’ र अरू फुटकर सूत्र कथामा पनि कवि–चेतनाको त्यस्तै गुदी भरिएको छ भनेर कतिपय आलोचकले भन्ने गरेका छन्। तर, यस पटक नयाँ वर्ष कविता मेरो मन–मस्तिष्कमा छाइरहँदा मैले धेरै त आफ्नै समाज र राजनीति, कुशासन र बेथितिलाई पनि एकैसाथ सम्झिएको रहेछु, जान–अन्जानमा:

खेतलाई धान देऊ
खेतीलाई किसान देऊ
ओठलाई मुस्कान देऊ
देशलाई निष्ठा–सन्तान देऊ
बन्धनलाई त्राण देऊ
तरबारलाई ‘म्यान’ देऊ
धनुषलाई बाण देऊ
मजदुरलाई शान देऊ
पीडितलाई मान देऊ
भोकलाई खान देऊ
तिर्खालाई जलपान देऊ
अरू कुरा जान देऊ
नयाँ वर्ष वरदान देऊ...

यसरी कवितामा पनि ‘अनुभवन्यास’ हुन्छ? हुँदो रहेछ। धारामा पानी नआएको कुरा, भाषा र लेखनमा खुट्टो काटिने कि नकाटिने कुरा, झोलामा खोला (लाइसेन्स) बोकेर हिंडनेहरूको कुरा, मैमत्त सत्ताको कुरा, अस्पतालमा कि त डाक्टर कि उपचार नभेटिने कुरा र, कति कति कुराहरू यसरी तानिन थाल्छन् कि म कहींकतै चिप्किएको छैन, स्वतन्त्र छु भन्नै नसकिने रहेछ।

अचम्म लाग्छ, मैले यही भावलाई कुनै आख्यानको कथानकमा हालेको भए नि हुने नि? तर, हुटहुटी यस्तो पलायो कि एकदम कवितै लेखिहालौं। मैले धेरै ठाउँमा, धेरै अवसरमा भनेको छु कि म धेरै अण्डा फोरेर निस्केको चल्ला हुँ, एउटै अण्डाबाट होइन। म लामै यात्राको हमसफर हुँ, धेरै आरोह–अवरोह मेरासामु आए–गएका छन्। तर अहँ, यो पाला भने एउटै अण्डाबाट फुत्त निस्किएझैँ भयो, कुनै हतारमा हिँडेको यात्रुझैं। म निस्किएँ, नयाँ वर्षसँगै अनेक आग्रह–मनोकांक्षा राख्दै:  

योगीलाई ध्यान देऊ
बाधकलाई दान देऊ
भाषालाई उखान देऊ
लेखनलाई आख्यान देऊ
रोगीलाई निदान देऊ
खोलालाई मुहान देऊ
चियालाई बगान देऊ
शिरलाई सिरान देऊ
मुटुलाई आशाको भान देऊ
मान्छेलाई अभिमान देऊ
दुष्टलाई अवसान देऊ
इष्टलाई सम्मान देऊ
ममतालाई महान् देऊ
रोगीलाई प्राण देऊ
खोजलाई विज्ञान देऊ
भ्रष्टतालाई म्लान देऊ
सन्यासीलाई बान देऊ
भक्तलाई भगवान् देऊ
गायकलाई तान देऊ
नायकलाई अभियान देऊ
अपराधीलाई चलान देऊ
चराहरूलाई गान देऊ
रुखलाई ‘हुर्कान’ देऊ
अरू कुरा जान देऊ
नयाँ वर्ष वरदान देऊ...

कुनै समयको स्मरण गर्दा वा सम्झना कोट्याउँदा चेतभन्दा अर्धचेतका स्मृतिहरू तरोताजा लाग्छन् कहिलेकाहीँ, विशृङ्खल भए पनि। म आफ्ना सपना वा कुनै तन्द्राहरूमा उही वीरगन्ज सम्झिरहेको हुन्छु, देखिरहेको हुन्छु। मैले प्रकाशोन्मुख एक संस्मरण कृतिमा लेखेको छु—“वीरगन्ज छुटेपछि सब छुट्दै र छोटिँदै गए। उत्साहमा बाँचिन्छ बाल्यकाल। युवावस्था, उत्साह, उत्फुल्लता र रोमान्समा बाँचिन्छ प्रायः। बुढापा, सबको सम्झना गरेर बाँचिँदो रहेछ।”

अहँ, यसो भन्दैमा नहुने रहेछ। उमेरमा ८० पार गरेपछि म बुढापाको त्यही घडीमा उभिएको छु, जहाँ सम्झना मात्रै बँचेको छ बितेको–बिताएको समयको। तर, मैले यो नयाँ वर्ष २०८२ को मुखमा बितेको–बिताएको समयभन्दा बढी आजलाई सम्झेको छु, रहेछु। जति बुढ्यौली भने पनि, जति एकान्तिक बनेर बसे पनि मन–मस्तिष्कमा एउटा पुल्ठो बोकेर कोही आइरहेकै हुन्छ—चकमन्नमा एकान्त ब्युँझाउने गरी। र, यो ‘पुल्ठो’ यस पटकलाई भने यतिखेर हामीमाझ फैलिएको आशाभन्दा बढी निराशा र प्रवेशभन्दा बढी निषेधको दैन्दिनीलाई उधिन्ने खालको छ।

खोइ म के लेखौँ र, २०८२ को यो मिर्मिरेमा? यसपाला भने यो आह्वान र बिन्तीभाउसँगै नयाँ वर्षको स्वागत गरेको छु:

ए नयाँ वर्ष,
चित्कार नसुन्नेलाई कान देऊ
घुम्ने मेचलाई दृष्टि–दान देऊ
दुर्बललाई आह्वान देऊ
सत्तालाई ज्ञान देऊ
अरू कुरा जान देऊ
नयाँ वर्ष वरदान देऊ...