चार दशकअघि बुंगमतीको चैत्यबाट हराएका दुई वटा मूर्ति नेपाल फिर्ता आइसकेका छन्। ती मूर्ति चैत्यमै राख्ने चर्चा भएको ६ महिना भइसकेको छ, तर अझै उद्गम स्थल पुग्न सकेका छैनन्।
काठमाडौँ– बुंगमतीस्थित मछिन्द्र बहालमा रहेको इन्दु शाक्यको दराजमा हाकुपटासी थन्किएको लामो समय भइसक्यो। दराजमा राखेको हाकुपटासी हेर्छिन्, अनि घरअघि आँगनमा भएको चिभा (चैत्य)तिर आँखा दौडाउँछिन्।
चैत्यको दक्षिण र उत्तरतिर दुई भाग खाली छन्, जहाँबाट ४० वर्षअघि ‘स्ट्यान्डिङ बुद्ध’का दुई मूर्ति फरक फरक समयमा चोरी भएका थिए। अब यी दुवै मूर्ति एकैपटक फिर्ता आउने भएका छन्।
यी दुवै मूर्ति नेपाल आइसकेका छन्। लैनसिंह वाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख भएअनुसार एउटा मूर्ति १०औँ र अर्को आठौँ शताब्दीका हुन्। १०औँ शताब्दीको बुद्धको मूर्ति गत पुसमा अमेरिकाबाट त्यहाँका संकलकले स्वेच्छाले फिर्ता गरेका थिए। अर्को भने गत चैतमा मिचिगन संग्रहालयबाट फिर्ता आएको हो।
फिर्ता आएका मूर्तिलाई उद्गम स्थल (हराउनुअघि मूर्ति भएको ठाउँ) मा पुनस्र्थापनाको तयारी गरिरहेका छन् मछिन्द्र बहालका स्थानीय। सोही दिनको उत्सवका लागि इन्दुले हाकुपटासी किनेर राखेकी हुन्। उनी भन्छिन्, “होलीको दिन आउँछ भनिएको थियो, तर आएन। अब कहिले आउँछ कुन्नि!”
६ महिनादेखि मूर्ति फिर्ता आउने चर्चा चलेको हो। त्यसयता मछिन्द्र बहालका इन्दुलगायत स्थानीयको उत्साह उस्तै छ।

मछिन्द्र बहालमा अन्य चैत्य पनि छन्, ती चैत्यको व्यवस्थापन तथा सुरक्षामा स्थानीय एकजुट हुन्छन्। इन्दुको घरअघि रहेको चैत्य यहाँको सबैभन्दा ठूलो हो। छैटौँ शताब्दीमा स्थापना भएको चैत्यलाई मल्लकालमा पुनर्निर्माण गरिएको शिलालेखमा उल्लेख छ। नेपाल भाषामा ‘तः’ को अर्थ ठूलो हुन्छ, यसलाई तःग चैत्य पनि भनिन्छ।
इन्दुका श्रीमान् अनुपले चैत्यको स्थापनाको रोचक किंवदन्ती सुनाए। “परापूर्वकालमा मछिन्द्र बहालमा पहिरो गइरहेपछि त्यहाँका तान्त्रिकले मिलेर दिव्यज्ञान रत्नलाई गर्भगृहमा राखी उक्त चैत्य बनाएका थिए,” उनी भन्छन्, “त्यसपछि पहिरो जान रोकिएको जनविश्वास छ।”
कहिले आउँछन् मूर्ति?
हराएका दुई मूर्ति फिर्ता भएसँगै आफ्नो आँगन फेरि पूर्ण हुने अनुपकी आमा चिरीमाया बताउँछिन्। ४० वर्षअघि एकाबिहानै जब उनी पूजा गर्न पुगिन्, चैत्य फोडिसकिएको थियो। चैत्य फोडेर मूर्ति चोरेको देख्दा उनको चित्त फाटेको थियो। “त्यसपछि फेरि अर्को मूर्ति चोरी भयो। हराएका देउता आउनुभएपछि रोकिएको पूजा फेरि शुरू गर्न पाउनेछु,” उनी भन्छिन्।
तर कहिले आउँछन् मूर्ति? मूर्ति फिर्ताको प्रक्रियामा शुरूआती समयदेखि आबद्ध स्थानीय अनिल तुलाधर चाँडै आउने आश्वासन पाउने गरेको बताउँछन्। “कोटा टोल बहालस्थित श्रीधर विष्णु र अमेरिकाबाट अर्को मूर्ति गत पुसमै फर्किएको थियो। शुरूमा ती दुई मूर्ति फिर्ताको प्रक्रियामा रहँदा एकै चैत्यको अर्को मूर्ति पनि एकैपटक उद्गम स्थलमा स्वागत गर्ने निर्णय भयो,” उनी भन्छन्, “नेपाल फर्किएको आधा वर्ष भइसक्यो, विभागबाट अझै तीन महिना लाग्ने देखिएको छ।”
पछिल्लो मूर्ति चैत १७ गते फिर्ता आएको थियो। बुंगमतीकै कोटा टोल बहालको चैत्यको श्रीधर विष्णु एक थान र तःग चैत्यका दुई थान मूर्ति फर्किएका छन्। मूर्ति ल्याएर राख्न आवश्यक कागजी प्रक्रिया पनि सकिइसकेको छ। तर अझै समय लाग्नुको पछाडि पुरातत्व विभागले थालेको नयाँ अभ्यास हो। अब फिर्ता आएका मूर्तिलाई कम्तीमा तीन महिना संग्रहालयमा प्रदर्शनीमा राख्नुपर्ने छ।
विभागकी प्रमुख पुरातत्व अधिकृत सरिता सुवेदी आममानिसमा जनचेतना फैलाउने उद्देश्यले यस्तो अभ्यास थालेको बताउँछिन्। त्यस्तै, उद्गम स्थानमा पनि तीन महिना मूर्ति फिर्ता लैजाने तयारीका लागि समय हुने उनको भनाइ छ।
तुलाधर पनि मूर्ति फिर्ता ल्याउन मछिन्द्र बहालमा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँछन्। २०७२ सालको भूकम्पले क्षति पु¥याएको बुंगद्य मन्दिर पुनर्निर्माण अन्तिम चरणमा छ। निर्माणका सामग्री असरल्ल हुँदा बहाल नियमति स्वरूपमा फर्कन अझै एक महिना लाग्छ।
अनिल तुलाधरलाई भ्याइनभ्याई
तीन वर्षअघि अनिल तुलाधरलाई फेसबुक पेज ‘लस्ट आर्ट्स अफ नेपाल’बाट मूर्तिको फोटोसहित एउटा मेसेज आयो। त्यसअघि पनि उक्त पेजबाट मेसेज आइरहेका हुन्थे, तर खासै ध्यान दिँदैन थिए। यसपटकको मूर्तिले भने ध्यान खिच्यो।
उक्त फोटोमा भएको मूर्ति मिचिगन संग्रहालयका एक निजी संकलकसँग थियो। “मूर्ति बुंगमतीको हो भनेर त थाहा थियो, तर बुंगमतीको पनि कहाँको भन्ने पत्ता लगाउन सकिएन,” तुलाधर भन्छन्, “लामो समय प्रोभनेन्स (उद्गम) पहिचानमै बित्यो।”
मूर्तिको उद्गम स्थलको प्रमाणीकरण महत्त्वपूर्ण हुन्छ। लैनसिंह वाङ्देलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा यो मूर्तिबारे उल्लेख भए पनि बुंगमतीको कुन स्थान को हो भन्ने लेखिएको छैन।
अनिल पेसाले आर्किटेक्चर हुन्, बुंगमतीको सम्पदा क्षेत्रमा काम गर्छन्। उनीसँग बुंगमतीका पुराना फोटोहरूको संग्रह छ। उनले आफूसँग भएका फोटो खोतल्न थाले। नभन्दै, तःग चैत्यकै उत्तरतर्फ फर्किएको मूर्ति पहिचान गरिहाले। त्यो दिन २०७९ मंसिर २४ गते थियो, स्थानको पहिचानसहितको फोटो लस्ट आर्ट्स अफ नेपाललाई पठाए।
उक्त पेजले नेपाल हेरिटेज रिकभरी क्याम्पेन (एनएचआरसी) मा पठायो। त्यहाँबाट अधिवक्ता सञ्जय अधिकारीको समन्वयमा अमेरिकास्थित मिचिगन म्युजियममा भएको मूर्तिको पहिलो चरणको पहिचान सफल भयो।
स्थानीयको रूपमा तुलाधरको काम यतिमै सकिने थिएन। मूर्ति पहिचान भएको एक वर्षपछि २०८० फागुन २४ मा अमेरिकास्थित डिस्ट्रिक अटोर्नी अफ म्यानहटनबाट हिलारी स्यासले तुलाधरलाई थप सहयोगका लागि सम्पर्क गरे।
“उनीहरूको चासोका मुख्य तीन विषय थिएः मूर्ति बुंगमतीकै हो भन्ने के छ प्रमाण? मूर्ति बुंगमतीबाटै चोरी भएको के छ प्रमाण? मूर्ति हराएपछि कतै उजुरी भएको प्रमाण छ कि छैन?” तुलाधर भन्छन्, “मूर्ति चोरीको उजुरी त्यो बेलामा कसरी हुन्थ्यो र, त्यही भएर हामी पहिलो दुई विषयमा केन्द्रित भयौँ।”
तुलाधर सबैभन्दा पहिला आफ्नो संग्रहमा रहेको फोटो खिच्ने फोटोग्राफरलाई खोज्न थाले। फोटोग्राफर सानुराज शाक्य थिए। चार महिनापछि तुलाधरले उनको ठेगाना पत्ता लगाए। “उहाँ फेसबुकमा एक्टिभ हुनुहुँदो रहेनछ, मेसेज गर्दा उत्तर आएन,” उनी सम्झन्छन्, “मोबाइल नम्बर पत्ता लगाएपछि उहाँलाई भेट्न पाटन गएँ।”
वृद्धावस्थाका शाक्यले बुंगमती फोटो खिच्न पुगेको तर बाँकी याद नभएको बताए। पुरातत्व विभागले खटाएका एक कर्मचारीको सहयोगीको रूपमा मात्र आफू गएको उनको भनाइ थियो।
म्यानहटनबाट तुलाधरलाई फोटाग्राफरको अभिव्यक्ति र भएसम्म उनको फोटो नै भए पनि बलियो प्रमाण हुने भनिएको थियो। तर शाक्यले न त आफ्नो फोटो खिच्न दिए, न त फोटोको आधिकारिकता कबुल गरे।
प्रमाणीकरणको यो पाटो तुलाधरले सोचेजस्तो सजिलो हुने देखेनन्। “शायद जीवनको यो उमेरमा उहाँलाई यस्ता कानूनी झमेलामा पर्न मन भएन, मैले पनि उहाँको विचारलाई सम्मान गरेँ,” उनी भन्छन्।
तुलाधरलाई अर्को विकल्प दिइयो– स्थानीयसँग लाइभ जुम भिडियो कल। गत जेठ २६ गते जुम भिडियो लाइभ शुरू भयो। भिडियो कल पनि मूर्ति हराएको चैत्य अघिबाट गरियो। तुलाधर भन्छन्, “म्यानहटनका पदाधिकारीले प्रश्न गर्थे, स्थानीयले उत्तर दिन्थे। म अंग्रेजीबाट नेपालीमा र नेपालीबाट अंग्रेजीमा उल्था गर्थें। छड्के प्रश्न पनि भयो। स्थानीयले आ–आफ्नो सम्झनामा रहेको जानकारी दिनुभयो।”
तर मूर्ति हराएको मितिबारे कसैबाट स्पष्ट उत्तर आइरहेको थिएन। त्यही बेला एक जना हजुरआमाले बोलेको उनलाई अझै याद छ। “उहाँले आफ्नी कान्छी छोरी जन्म भएको साल, अर्थात् ४० वर्षअघि मूर्ति चोरी भएको बताउनुभयो। वाङ्देलको पुस्तकमा उल्लेख २०४० को दशकसँग मिल्यो। यसरी मूर्तिको प्रोभन्यान्स कलेन्सन पूरा भयो,” उनी भन्छन्।
त्यसपछि मूर्ति फिर्ताको प्रक्रिया अगाडि बढ्यो। यसमा वर्ल्ड नेवाः गुठीले अग्रसरता जनायो। तुलाधर भने मूर्ति बुंगमती लैजान नेपालको प्रशासनिक प्रक्रियामा लागे।
ललितपुर महानगरपालिका वडा नंं. २२ का वडाध्यक्ष सागर तुलाधर संग्रहालयबाट जहिल्यै मूर्ति फिर्ता गरे पनि आफूहरू उद्गम स्थानमा नै राख्न तयार रहेको बताउँछन्। मूर्तिको सुरक्षाका लागि वडाले सीसीटीभी क्यामरा जडान गर्ने र वडा कार्यालयले प्रहरी परिचालन गर्न पनि सहयोग गर्ने उनको भनाइ छ।
तुलाधरले स्थानीयको सहमतिदेखि वडा कार्यालयबाट मूर्तिको संरक्षण गरिने पत्र पुरातत्व विभागमा पु¥याए। विभागबाट राष्ट्रिय संग्रहालय पुग्यो। संग्रहालयले जिल्ला समन्वय समिति (जिसस)बाट पनि सिफारिस चाहिने जनायो। जिससले वडा कार्यालय नभई सम्बन्धित पालिका (ललितपुर महानगर)बाट सुरक्षा व्यवस्थापनको सिफारिस चाहिने जनायो।
तुलाधर ललितपुर महानगर पुगे। आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरे। अहिले मूर्तिको सुरक्षाका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको मातहतमा जिससले समन्वय गर्ने गरेको छ। आगामी तीन महिनामा मूर्ति फिर्ता ल्याउन बाजागाजा तयार गरेर बुंगमतीबासी भोजको योजना बनाई बसेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
