संघीय राजधानी काठमाडौँ मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको भिड लागेको छ। पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटनका लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्।
काठमाडौँ– नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ। वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवर्द्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्।
जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ। यसले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ। मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ।
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ। “मुलुकभरका होटलहरुमा न्यूनतम ३५ देखि झन्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ। केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ,” उनले भने।
देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन्।
त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौँडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्वारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्वारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन्।
पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटनका लागि हिमाली क्षेत्रमा पुगिरहेका छन्। सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन्।
संघीय राजधानी काठमाडौँ उपत्यका मात्रै नभई देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरूको भिडभाड छ। उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ। दक्षिणकाली, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन्। नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए।
व्यवसायी उत्साहित
नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ। तथापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ रद्द गरेका छन्। नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन/चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताए। “नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ। विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्”, उनले भने। उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन्। पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहौल बढेको छ। पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ।
भैरहवास्थित सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ। नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उहाँको भनाइ छ। “भैरहवाका होटलमा विशेषगरी भारतीय पर्यटकले भरिभराउ छन्। आन्तरिक पर्यटक पनि बढेका छन्। होटलहरुले विभिन्न छुट र अफर दिएका छन्। सङ्घका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढ सय भन्दा बढी होटल सञ्चालनमा छन्।
पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन्। नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको उनले बताए।
क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमान अध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन। “नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्”, उनले भने।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताए। उनले भने,“आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ।”
बोर्डको सक्रियता
पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकतासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले आक्रामक रूपमा अन्तर्राष्ट्रिय प्रवर्द्धनको कार्य गरिरहेको जानकारी दिए। उनका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ।
आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ। सुदूरपश्चिम मार्टको तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ। नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए। तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो।
त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ। तर, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन्। भलै ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ।
सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताए।
वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निराशा दुवै मिश्रित रहे पनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उनको विश्वास छ। उनले भने, “भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको थियो,तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ। महँगो हवाई सेवा भएको वर्षको रूपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ।”
नयाँ वर्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमणवर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ। यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमणवर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। पोखरामा फेवा महोत्सव शुरू भएको छ। नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमणवर्ष-२०८२ आयोजना हुँदैछ। भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तालिका छ।
नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमणवर्ष हुन लागेको हो। समितिका अध्यक्ष नवीन गुरुङले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
