वीरगन्जमा लगाइएको कर्फ्युको अवधि थप, रात्रि बजार बन्द

स्थानीय प्रशासनले वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थप गरेको छ।

रौतहट– पर्सा प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यु अवधि थप गरेको छ। स्थानीय प्रशासनले एक सूचना जारी गरि आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थप गरेको जनाएको हो। 

जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरातसम्म कायम राख्ने निर्णय गरेअनुसार कर्फ्यु अवधि थप गरेको प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिए। विभिन्न राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र जनप्रतिनिधिको सहभागिता रहेको बैठकले कर्फ्युको आदेश तत्काल नहटाउने निर्णय गरेको उनको भनाइ छ। 

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ। जिल्ला प्रशासनले वीरगन्जमा शनिबार भएको घटनाको समीक्षा गर्दै धार्मिक सद्भाव भड्कन नदिन जनसमुदायलाई अपिलसमेत गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने पनि जनाएको छ।कर्फ्युका कारण बजारमा लगाइएका अस्थायी स्टल हटाइएको छ भने व्यापारीले आफ्नो सामान फिर्ता लैजान थालेका छन्।

वीरगन्जस्थित छपकैयामा हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभायात्रामा सहभागीले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुवै पक्षबीच झडपमा भएको थियो। झडपका क्रममा सुरक्षाकर्मी र स्थानीय घाइते भएका छन् भने सवारीसाधन र पसलमा आगजनी भएको थियो।