नेपाल डीएलएस मेथडबाट यूएईमाथि ५ रनले विजयी

आईसीसी यू१९ विश्वकप एशिया छनोटमा नेपालले डीएलएस मेथडबाट यूएईलाई ५ रनले पराजित गरेको छ।

काठमाडौँ– आईसीसी यू१९ पुरुष क्रिकेट विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरूआत गरेको छ।

आइतबार नेपालले घरेलु मैदानमा यूएईलाई ५ रनले पराजित गरेको हो। वर्षा र भिजिबिलिटी कम भई डक वर्थ लुइस पद्धतिबाट खेलको निर्णय लिँदा नेपाल ५ रनले विजयी भएको हो।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाउँदा वर्षा कारण खेल रोकिएको थियो। त्यसपछि वर्षा र भिजिबिलिटी न्यून रहेको निष्कर्ष निकाल्दै अम्पायरले बाँकी खेल हुन नसक्ने घोषणा गर्दा नेपाल विजयी भएको हो।

त्यति बेलासम्म यूएईका लागि यायिन किरण राईले ९६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा १०४ रन बनाएका थिए भने रायन खानले ३५ रन जोडेका थिए।

बलिङमा नेपालका अशोक धामी र सन्तोष यादवले २/२ विकेट लिँदा अभिषेक तिवारी र नरेन भट्टको नाममा १/१ विकेट रह्यो।

त्यसअघि आइतबार मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनायो। नेपालका लागि कप्तान नरेन भट्टले ७५ बलमा ७ चौकाको मद्दतमा ६७ रन बनाए।

त्यस्तै, दिलशाद अली ३४, शाहिल पटेल ३२, नीरज यादव १८ र सन्तोष यादवले ११ रनको योगदान दिए। 

बलिङतर्फ यूएईका उदिस सुरीले ३ विकेट लिए भने युग शर्मा र शलोमको नाममा २/२ विकेट रह्यो।