नेप्से परिसूचक २७ अंकले बढ्यो, साढे ८ अर्बको शेयर किनबेच

मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा कायम भएको छ भने आठ अर्बमाथि शेयर कारोबार भएको छ।

काठमाडौँ– नयाँ वर्षको बिदापछि खुलेको शेयर बजारमा १.०१ प्रतिशतको वृद्धि देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

विभिन्न ३२० कम्पनीको दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार ३६४ पटक खरिदबिक्री भयो। जसबाट आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि नयाँ वर्षको बिदाको अघिल्लो दिन आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

मंगलबारको कारोबारमा व्यापार समूहको उपसूचक ०.६४ प्रतिशत र म्युचुअल फन्डको उपसूचक ०.०७ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचकमा भने हरियाली छाएको छ।

बैंकिङ ०.४८, विकास बैंक २.४६, वित्त १.५९, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.४७, लगानी २.७१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन १.२२, लघुवित्त ०.६०, निर्जीवन बीमा १.०७ र अन्य समूहको परिसूचक ०.६१ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

यस दिनको कारोबारमा तीनवटा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट, ग्रिन र शप्तकोशी डेभेलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

नेपाल माइक्रो इन्स्योरेन्स ९.९९ र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन्। यस दिनको कारोबार सबैभन्दा धेरै बलेफी हाइड्रो पावरको शेयर मूल्य ९.६९ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन सबैभन्दा बढी बलेफी हाइड्रो पावरको दुई अर्ब एक करोड २९ लाख ९३ हजार १४२ रुपैयाँ बराबरको ८६ लाख ७८ हजार २२५ कित्ता किनबेच भएको छ।