​सिंगापुरको संसद् विघटन, मे ३ मा आमनिर्वाचन

सिंगापुरका राष्ट्रपति थरमन शान्मुगरत्नमले मंगलबार संसद् भंग गरेसँगै आमचुनावका लागि मार्ग प्रशस्त भएको छ।

प्रधानमन्त्री लरेन्स वोङका लागि निर्णायक परीक्षा मानिएको आगामी राष्ट्रिय चुनावअघि सिंगापुरको संसद् विघटन भएको छ।सिंगापुरका राष्ट्रपति थरमन शान्मुगरत्नमले मंगलबार संसद् भंग गरेसँगै आमचुनावका लागि मार्ग प्रशस्त भएको छ।

गत वर्ष वोङले सिंगापुरका संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको स्थान लिएका थिए। यससँगै उनले प्रभावशाली ली परिवारको दशकौँको नेतृत्वपछि नयाँ युगको शुरूआत गरेका थिए।

“राष्ट्रपति थर्मन शनमुगरत्नमले प्रधानमन्त्री लरेन्स वोङको सिफारिसमा मंगलबार, १५ अप्रिल २०२५ मा संसद् विघटन गर्नुभएको छ”, एक सरकारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री लरेन्स वोङको कार्यालयको घोषणाअनुसार उम्मेदवारहरूले औपचारिक रूपमा पदका लागि उम्मेदवारी दिने दिन अप्रिल २३ लाई तोकिएको छ। संसद् विघटन भएको केही समयपछि निर्वाचन विभागले निर्वाचन मे ३ मा हुने तय भएको जनाएको छ।

यस चुनावमा अघिल्लो संसद्भन्दा चार सिट बढी कुल ९७ सिट रहेका छन्। अधिकांश सिट ‘ब्लक’ मतदान प्रणालीबाट आएका छन्।

सन् २०२० को चुनावमा प्रतिस्पर्धा गरिएका ९३ सिटमध्ये १० सिट जितेर राष्ट्रलाई चकित पारेको मुख्य विपक्षी वर्कर्स पार्टीले आफ्नो गतिलाई बढाउँदै थप प्रगति गर्ने अपेक्षा गरिएको छ। अन्य साना विपक्षी दलले पनि चुनावमा लड्ने अपेक्षा गरिएको छ।

यो चुनाव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सिंगापुरको द्रुत आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण विश्व व्यवस्थालाई खतरा पैदा गरेको बेला हुन लागेको हो।

ट्रम्पले आधारभूत १० प्रतिशत भन्सार शुल्क लगाएको भए पनि सिंगापुर अन्तर्राष्ट्रिय व्यापारमा भारी निर्भरताका कारण अन्य देशमा लगाइएको उच्च भन्सार शुल्कका कारण विश्वव्यापी आर्थिक मन्दीको जोखिममा छ।