पोखरा महानगरको स्वास्थ्य महाशाखामा तालाबन्दी

उनीहरूले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्न माग गरेका छन्।

कास्की– पोखरा महानगरपालिकाअन्तर्गतको स्वास्थ्य महाशाखामा तालाबन्दी भएको छ। पोखरा महानगरले अन्यायपूर्ण तरिकाले हटाएको भन्दै संघर्षरत हटाइएका करारका कर्मचारीले मंगलबार पोखरा महानगरको लेखनाथस्थित स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन्। 

महानगरले करारका कर्मचारीलाई हटाउने निर्णय गरेसँगै महानगरअन्तर्गत स्वास्थ्यचौकी र क्लिनिकमा कार्यरत ५९ कर्मचारी निरन्तर रूपमा आन्दोलित छन्।

गत मंसिर २८ गते बसेको पोखरा महानगरको विशेष नगरसभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवा आयोगको सिफारिसमा परेका वैकल्पिक उम्मेदवारलाई महानगरमा काममा लगाउने निर्णय गरेको थियो।

महानगरको उक्त निर्णयविरुद्ध स्वास्थ्यका कर्मचारी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले माघ १३ गते अर्को आदेश नआएसम्मका लागि करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो।

पोखरा महानगरले भने करार तोडिसकिएको अवस्थामा अब उक्त करारलाई निरन्तरता दिन नसकिने भन्दै आन्दोलनरत स्वास्थ्यका कर्मचारीलाई काममा फर्कन दिएको छैन।

स्वास्थ्यका कर्मचारीले महानगरले सर्वोच्चको अन्तरिम आदेशलाई लत्त्याएको भन्दै आन्दोलन जारी राखेका छन्। त्यही आन्दोलनको निरन्तरताका रूपमा उनीहरूले पोखरा महानगरको स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका हुन्।

यसैबीचमा माघ १० गते बसेको नगरसभाबाट संघ, प्रदेश सरकार तथा अन्य संघसंस्था साझेदारसँगको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रमका लागि भन्दै हटाइएका तीन कर्मचारीलाई महानगरले हाजिर गराएको छ।

उनीहरूले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्न माग गरेका छन्।

यस्तै नीति, विधि र प्रक्रिया विपरीत मनोमानी तरिकाले ‘शुभलाभ’का आधारमा बिनाप्रतिस्पर्धा नियुक्ति गरिएका तीन जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्नसमेत उनीहरूको माग छ।