टोखामा ट्रकबाट बरामद २५ करोड प्रकरणमा २ जनाविरुद्ध मुद्दा

काठमाडौँको टोखा नगरपालिकामा ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा राजस्व अनुसन्धान विभाग दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा राजस्व अनुसन्धान विभाग दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले ट्रकचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका कुसाङ लामा र नारायण पौडेललाई मुख्य अभियुक्त बनाइ मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। २५ करोडका मालिक भनिएका पौडेल फरार छन्।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसुरमा मुद्दा दायर गरिएको हो।

विभागले उनीहरूबाट २५ करोड ३४ लाख ७८ हजार ८४२ बिगो र जरिबाना असुलउपर गर्न मागदाबी लिएको छ।

त्यस्तै, अभियोगपत्रमा सुन चोरीपैठारी मुद्दामा सजाय भुक्तान गरेको पाँच वर्षभित्र लामाले पुनः कसुर गरेको उल्लेख गर्दै उनीमाथि थप सजाय माग गरिएको छ।

विदेशी मुद्रा ओसारपसारमा प्रयोग ट्रक पनि जफत गर्न, फरार प्रतिवादी पौडेलको हकमा अदालतबाट कानूनबमोजिम म्याद जारी गर्नसमेत विभागले मागदावी लिएको छ।

गत चैत ४ गते काठमाडौँको टोखा नगरपालिका–२ झोरमा लामाले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाइ लुकाइ राखेको अवस्थामा २५ करोड रुपैयाँ बराबरको युरो, अमेरिकी डलरलगायतका विदेशी मुद्रा बरामद भएको थियो। 

ट्रकबाट अमेरिकी डलर १०० दरका तीन हजार ११९ र ५० दरका १७९ थान, युरो ५०० दरका ११, २०० दरका ४८०, १०० दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान नोट बरामद भएको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त रकमसहित ट्रकचालक लामालाई पक्राउ गरी थप अनुसन्धानका लागि विभागमा बुझाएको थियो।